तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री पौडेलद्वारा काठमाडौँ विश्वविद्यालयको बलराम तारा प्रधान ऊर्जा भवन उद्घाटन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) मा बलराम तारा प्रधान ऊर्जा भवनको उद्घाटन गरिएको छ ।

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक समारोहका बीच काठमाडौँ विश्वविद्यालयको हातामा कुल २ करोड ६८ लाख ९१ हजार ८६४ रुपैयाँ लागतमा निर्मित बलराम ( तारा प्रधान इनर्जी ब्लकको उद्घाटन गर्नुभएको हो । 

स्वर्गीय बलराम प्रधानको परिवारबाट प्राप्त ४५ लाख सहयोगमा शुरु भएको भवनलाई सम्पन्न गर्न इनर्जी क्षेत्रमा लामो समयदेखि नेपालमा रहेर काम गरिरहेका अमेरिकी नागरिक डन ज्यान्टजेन ले थप ५ हजार डलर सहयोग गर्नुभएको थियो । बाँकी अपुग स्रोत विश्वविद्यालयले जुटाएको थियो । 

पछिल्ला दिनमा विश्वविद्यालयले प्राथमिकतामा राखेको ऊर्जाका क्षेत्रमा काम गर्नेगरि उक्त भवनको उपयोग गरिने छ ।  १५ जुलाई २०२१ मा शुरु भई १८ महिनामा सम्पन्न बेसमेन्ट सहित तिन तल्ले उक्त भवनको पहिलो तल्ला आधारभूत मेकानिकल इन्जिनियरिङका लागी, दोस्रो तल्ला इनर्जी सिष्टमका लागि र तेस्रो तल्ला ग्रिन हाइड्रोजनका क्षेत्रमा अध्ययन र अनुसन्धानका लागी प्रयोग हुनेछन् ।

दाता व्यक्ति र संस्थासँगको सहकार्यमा विश्वविद्यालयका आधारभूत संरचनाहरू निर्माण र मर्मत गर्दै आएको काठमाडौँ विश्वविद्यालयका लागि यो अर्को उदाहरण भएको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताउनुभयो । यो भवनको निर्माणले अन्य दाता, व्यक्ति र संस्थाहरूलाई पनि विश्वविद्यालयसँग सहकार्यका लागि आकर्षण गर्ने प्राध्यापक डाक्टर थापाले बताउनुभयो ।

केयुका ग्रिन हाइड्रोजन ल्याब विभाग प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापाले ऊर्जाको क्षेत्रमा काम गर्न यो भवनले थप प्रोत्साहन मिलेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button