तपाईँ सुन्दै हुनुहुन्छः

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ

file photo

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ ।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा शहीद दिवसको अवसरमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा उहाँले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पुर्‍याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पुर्‍याउने धारणा राख्नुभयो ।

उहाँले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा छ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताउनुभयो ।

उहाँले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ/दश वर्षमा भत्कने अवस्था नरहेको बताउनुभयो ।

‘जनताले जनताका निम्ति बनाएको संविधान हो’, उहाँले भन्नुभयो, ‘यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ÷दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।’

उहाँले शहीद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताउनुभयो ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले शहीदको बलिदानले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक क्रान्ति सम्पन्न भए पनि आर्थिक, सामाजिक क्रान्ति बाँकी रहेको उल्लेख गर्नुभयो ।

महासचिव शङ्कर पोखरेलले राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको आशङ्का गर्नुभयो ।

‘मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन्’, उहाँले भन्नुभयो, ‘त्यसप्रति एमाले गम्भीर रहेको छ । एमाले अस्थिरताको खेललाई समाधान गर्न दृढ रहेको छ ।’ रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button