तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको सिञ्जामा बहुप्राविधिक शिक्षालय बन्ने, स्थानीय खुसी 

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नंं.६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । 

गाउँपालिकाको अथक प्रयास पश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने टुङ्गो लागेको हो ।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सिञ्जालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको छ । गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयकै रुपमा सिञ्जाको भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । 

“भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुने छ । त्यसका लागि भाडगाउँका स्थानीयले झण्डै १ लाख वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराउने छन् । सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुने छ ।”, उहाँले भन्नुभयो । 

गाउँपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनार्थ प्रक्रिया पुरा गर्नदेखि स्वीकृति ल्याउँदासम्म लामो सङ्घर्ष गर्नुपरेको अध्यक्ष धितालको भनाई छ । ५÷६ महिना अघिदेखि पहल थालिएको थियो । जग्गा निःशुल्क प्रदान हुने, समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने समस्या दर्साएपछि स्वीकृति पाएको अध्यक्ष धितालले उल्लेख गर्नुभयो । 

“सरकारी लगानीमै सञ्चालन हुने गरी सिटिइभीटीले सिञ्जामा बहुप्राविधिक शिक्षालय खोल्न स्वीकृति दिएको हो । यो सिंजा क्षेत्रका नागरिकका लागि खुसीको कुरा हो ।” उहाँले भन्नुभयो ।

गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालय स्थापना हुने भएपछि सिंजा क्षेत्रका नागरिक खुसी भएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button