तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदय नगरपालिकामा ग्लास ब्रिज र साइक्लिङ ट्रयाक निर्माण हुने 

इलाम फिक्कल । इलामको सूर्योदय  नगरपालिकामा ग्लास ब्रिज र साइक्लिङ ट्रयाक निर्माण हुने भएको छ ।

नवप्रवर्धन साझेदारी कोष कार्यक्रम अन्तर्गत सूर्योदय नगरपालिकाभित्र सञ्चालन हुने दुई वटा नगर गौरव आयोजना ग्लास ब्रिज र साइक्लिङ ट्रयाकको नगरप्रमुख रण बहादुर राई र उपप्रमुख दुर्गा कुमार बरालले आज शिलान्यास गर्नुभएको छ ।

सूर्योदय नगरपालिका वडा न ६ को डुडेगहिरा कन्यामबाट सुरु भएर वडा ७ को भन्ज्याङ, टि टेस्टीङ सेन्टर, वडा ८ को माने डाँडा वडा १० को फेन्सोङ गुम्बा , स्वामी पार्क हुँदै वडा ११ को पूर्णे डाँडा आइतबारे सम्मको १३.५ कि.मी. साइक्लिङ ट्र्याक र सूर्योदय वडा न ८ मा निर्माण हुने १५० मिटर लामो सिसाको पुल पनि शिलान्यास भएको हो  । 

सूर्योदय नगरपालिकाका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ७ करोड ९३ लाख ६४ हजार रुपैयाँ लागतका २०८१ माघमा काम सम्पन्न गर्ने  योजनाका साथ ठेक्का लागिसकेको छ । बी.एस कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर काम शुरु गरेको नगरका  इन्जिनियर सिर्जन गदालले जानकारी दिनुभयो । 

१ सय ५० मिटर लामो उक्त सिसाको पुल अत्याधुनिक शैलीमा निर्माण गरिने गदालले जनाकारी दिनुभयो ।

नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो आयोजनाको रुपमा उक्त लम्बाई भएको सिसाको पुलको निर्माण सुरु गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । 

उक्त आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको सडक निर्माणले मात्र विकास नहुने भएकोले, दीर्घकालीन आयआर्जनको स्रोत भनेको पर्यटन भएकोले यस्ता ठुला र देशमै नौला आयोजनाले मात्र पर्यटन आकर्षण गर्न सकिने बताउनुभयो ।

उहाँले सिसाको पुलसहितको साइकल ट्रयाक निर्माणले इलामका स्थानीयको आयस्तरमा सुधार हुने बताउनुभयो ।

यस्तै, १३ दशमलव ५ किलोमिटर साइकल ट्रयाक निर्माणका लागि सूर्योदय नगरपालिकाका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजार रुपियाँको लागतमा २०७९ असार मसान्त सम्ममा सक्ने गरी राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ । 

नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईका अनुसार प्रदेश १ सरकारको नव नवप्रवर्धन साझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्ष भित्रमा यी आयोजनाको काम सम्पन्न हुनेछन् । 

पर्यटकले चियाबारीलाई फन्को मार्दै साइक्लिङ गर्न ट्रयाक निर्माणको काम सम्पन्न भएपछि पाउनेछन् । पुल र साइकल ट्रयाक सञ्चालनमा आएपछि देशभरका साइकल यात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाइनेछ ।

परियोजना अन्तर्गत सूर्योदय ६ को कन्याममा ५९ साख ८३ हजार रुपैयाँको लागतमा साँझा सुविधा केन्द्र पनि निर्माण गरिने छ । जहाँ ताजा सागसब्जी र तरकारीको सङ्कलन र बिक्री केन्द्र रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button