तपाईँ सुन्दै हुनुहुन्छः

मनोमानी भाडा असुल्ने जीप व्यवसायी  कारबाहीमा

बाजुरा । बाजुराका विभिन्न स्थानीय सडक खण्डमा  सञ्चालन हुने सवारी साधनले जिल्ला प्रशासनले तोकिदिएको भन्दा दोब्बर भाडा असुलेको पाइएपछि कारबाही प्रक्रिया थालिएको छ।  जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले जिल्लामा तोकिएको भाडादर कार्यान्वयन नगर्ने जीप व्यवसायीलाई कारबाही सुरु गरेका हुन् ।

मनोमानी तरिकाले भाडा उठाउने गरेको नागरिकको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाजुराले भाडादर कायम गरेको थियो । सबै स्थानीय सडक खण्डको  भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानित भाडा असुल्ने सवारी साधन माथि कडा नीग्रानी राखिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायीलाई स्पष्टीकरणसहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी  नायब उपरीक्षक  सूर्य थापाले बताउनु भयो।

यात्रुको चापको फाइदा उठाएर तोकिए भन्दा बढी भाडा उठाएपछि ठाउँ-ठाउँमा भएका ईलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्दा तोकिए भन्दा बढी भाडा लिएकालाई फिर्ता गराउन थालिएको हो । भाडादर पूर्ण रुपमा कार्यान्वयनका लागि ईलाका प्रहरीहरूबाट विभिन्न स्थानहरूमा कडाइका साथ चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले पुस २० गते सार्वजनिक गरेको भाडादर कार्यान्वयन नगर्ने सवारी धनीलाई  प्रहरीको सक्रियतामा दोब्बर लिएको भाडा फिर्ता  गराउने गरिएको छ ।

हिजो मात्रै जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पिलुचौरबाट धुलाचौर जाँदै गरेको सवारी साधनले ७ जना यात्रुबाट प्रति व्यक्ति ४ सयका दरले भाडा लिएको पाईपछि उक्त सवारी साधनलाई नियन्त्रणमा लिई यात्रुलाई रकम फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख  सूर्य थापाले बताउनु भयो।

धुलाचौर जाँदै गरेको सुपप्र ०१००१ ज ११६४ नम्बरको सवारी साधनले तोकिएको भाडा भन्दा बढी लिएको २६८ रुपैयाँ यात्रुलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ।  सवारी साधनहरू कायम गरिएको भाडादर कार्यान्वयन नगरी यात्रुबाट मनोमानित भाडा असुल्ने गरेपछि प्रहरीले थप कडाइ गरेको छ ।

भाडादर कार्यान्वयन भए नभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने  प्रहरी नायब उपरिक्षक  थापाले बताउनु भयो।

जिल्ला प्रहरी कार्यालयले प्रत्येक ईलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरि पूर्ण रुपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ । हालसम्म जिल्लामा दुई दर्जन जीप व्यवसायीलाई कारबाही गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button