तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी वस्तुको प्रयोग र प्रवर्द्धनमा जोड दिन आवश्यक : राष्ट्रपति

फाइल तस्बिर

काठमाडौँ । नेपालको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालले पूर्व अर्थमन्त्री तथा गभर्नर युवराज खतिवडालाई सम्मान गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित बैङ्क तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री तथा गभर्नर डा.युवराज खतिवडालाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो  । 

समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बैङ्क तथा वित्तीय क्षेत्रले मुलुकको विकासको लागि पुँजीको निर्माण तथा रोजगारीको सृजना गर्न अझ धेरै काम गर्नु आवश्यक भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले स्वदेशी मौलिक वस्तुहरूको प्रयोग र प्रवर्द्धनमा बैङ्क तथा वित्तीय क्षेत्रले जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै यस कार्यमा बैङ्क तथा वित्तीय संस्था परिसंघले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा विना विभागीय मन्त्री राजेन्द्रकुमार राईले देशका ग्रामीण क्षेत्रहरूमा लगानी योग्य पुँजीको अभाव रहेको बताउनुभयो । 

उहाँले हाल देखापरेको लगानीयोग्य पूँजी अभावको अवस्थामा सुधार गर्न बैङ्क तथा वित्तीय क्षेत्र र उद्योगी व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय क्षेत्रमा स्थिरता हासिल गर्न अझै पनि चुनौतीको अवस्था रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले विश्वमा हाल देखिएको आर्थिक मन्दीको चुनौती नेपालमा भित्रिन नदिन नेपालको समग्र वित्तीय क्षेत्रको थप क्रियाशीलता आवश्यक भएको बताउनुभयो ।  

उहाँले सम्मानित व्यक्तित्व डा.युवराज खतिवडाले आर्थिक र वित्तीय सुशासनमा आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भन्दै नेपालको वित्तीय प्रणालीले एक दशकमा ठूलो फड्को मारेको बताउनुभयो । 

बैङ्कमा राखेको निक्षेपमा डुब्दैन भन्ने विश्वास स्थापित भएको र पूँजीबजार र बैङ्किङ क्षेत्रले सूचना प्रविधिको प्रयोगलाई तीव्रता दिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले बैङ्कको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २१ औँ स्थानमा पुगेको उल्लेख गर्नुभयो ।

कर्जाको आकार बढाउनुभन्दा गुणस्तर बढाउन आवश्यक रहेको भन्दै उहाँले कर्जाको आकार बढाउँदा वित्तीय जोखिम आउन सक्नेतर्फ सजगता अपनाउन पनि आग्रह गर्नुभयो ।

बैङ्क तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले देशको उत्पादनशील क्षेत्रमा प्रवाह हुने व्याजमा अन्य क्षेत्रमा भन्दा ४ प्रतिशतले कम हुनु पर्ने, कृषिजन्य वस्तुको आयात रोकेर स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button