तपाईँ सुन्दै हुनुहुन्छः

डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि, वेतन वृद्धिमा सुस्तता

वासिङ्टन। संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ ।

एडीपीको सर्वेक्षणअनुसार गत महिना निजी रोजगारीमा दुई लाख ३५ हजारले वृद्धि भएको छ । यो विश्लेषकले अपेक्षा गरेभन्दा बढी हो ।

एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचार्डसनले भन्नुभयो, “श्रम बजार बलियो छ तर खण्डित छ, उद्योग र प्रतिष्ठानको आकारअनुसार कामदारमा तीव्र भिन्नता छ ।”

“विशेष गरी गत वर्षको पहिलो छ महिनामा आक्रामक रूपमा काम गर्ने फर्महरूले आफ्नो गतिलाई कम गरे, र केही उदाहरणहरूमा वर्षको अन्तिम महिनामा रोजगारी कटौती गरेका छन्, उहाँले थप्नुभयो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिलाई कम गर्न सङ्घर्ष गरिरहेका बेला नीति निर्माताहरूले श्रम बजारलाई एक प्रमुख क्षेत्रको रूपमा हेरिरहेका छन् ।

चिन्ताको एउटा क्षेत्र भनेको बढ्दो ज्याला हो । किनकि कम्पनीहरूले कामदारहरू भेट्न र कायम राख्न प्रतिस्पर्धा गरे र यसले सेवाहरूको लागि बढ्दो लागतलाई वृद्धि गरेको छ । यसको कारणले गर्दा मुद्रास्फीतिलाई अधिक स्थिर बनाउनेछ ।

एडीपीको तथ्याङ्कअनुसार डिसेम्बरमा कामदारहरूले मार्च २०२२ पछि सबैभन्दा कम तलब वृद्धि देखेका छन्, जसले सम्भवतः केही राहत ल्याएको छ ।

कर्मचारीहरूको वार्षिक तलब लाभ हालसालै संशोधित रिपोर्टमा ७.३ प्रतिशतमा झरेको छ ।

एडीपीले भनेको छ, “डिसेम्बरमा तीन वर्षको शृङ्खलाको इतिहासमा रोजगारीमा स्थिर रहनेहरूको तलब वृद्धिमा सबैभन्दा ठूलो गिरावट आएको छ ।”

रोजगारी परिवर्तन गर्नेहरूको वार्षिक तलब १५.२ प्रतिशतले बढेको छ ।

एडीपीका अनुसार डिसेम्बरमा साना फर्महरूमा बलियो रोजगारीको अवसरहरू सिर्जना भएपनि ठूला प्रतिष्ठानहरूमा एक लाख ५१ हजार रोजगारीका अवसरहरू गुमेका छन् ।

व्यापार र यातायातजस्ता अन्य क्षेत्रमा नोक्सानी भए पनि अवकाश र आतिथ्यमा ठूलो वृद्धि देखिएको छ ।

यो तथ्याङ्कले शुक्रबार सार्वजनिक हुने सरकारी रोजगार प्रतिवेदनको पूर्वावलोकन प्रदान गर्न सक्छ, यद्यपि एडीपी रिपोर्ट सधैं आधिकारिक तथ्याङ्कसँग मेल खाँदैन ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button