तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य शिविरमा ६१८ जनाले सेवा लिए

गोरखा ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६१८ जनाले सेवा लिएका छन् ।  

गाउँपालिका र स्वदेशी नेपालको आयोजनामा मङ्सिर १२ गतेदेखि सुरु भएको शिविर आज सम्पन्न भएको हो ।

पालिका भित्रका ८ वटै वडालाई समेटेर स्वदेशी तथा विदेशी महिला चिकित्सकहरूद्वारा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर सम्पन्न गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । 

६ दिनसम्म सञ्चालन भएको शिविरमा वडा नम्बर १ देखि ८ सम्मका ६ सय १८ जना महिलाहरूले स्वास्थ्य उपचार सेवा लिएको भट्टले बताउनुभयो ।

शिविरमा स्वास्थ्य उपचार गराएका मध्ये ३१ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने चिकित्सकहरूले बताएको उहाँले जानकारी दिनुभयो । 

अप्रेसन गर्नुपर्ने बिरामीहरूको बारपाक सुलिकोट गाउँपालिका र स्वदेशी नेपालको सहयोगमा गोरखा अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालहरूमा निःशुल्क अप्रेसनको व्यवस्था मिलाइने भट्टको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button