तपाईँ सुन्दै हुनुहुन्छः

चालु आर्थिक वर्षमा बाँकेमा १ हजार १ सय ५३ नयाँ उद्योग दर्ता

बाँके । चालु आर्थिक वर्षमा बाँके जिल्लामा एक हजार १५३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकृत काशीलाल अधिकारीले दिनुभएको जानकारी अनुसार बाँके जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फ ६१३ र वाणिज्यतर्फ ५४० गरेर १ हजार १५३ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

आर्थिक मन्दीका कारण नयाँ उद्योग खुल्ने क्रम घट्ने अनुमान गरिएकोमा उल्लेख्य मात्रामा घरेलु उद्योग दर्ता भएको पाइएको अधिकारीले बताउनुभयो। सोही प्रकारले जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फका ८३६ र वाणिज्यतर्फका एक हजार ५६८ गरी दुई हजार ४०४ घरेलु तथा साना उद्योग नवीकरण भएको अधिकारीले जनाउनुभयो।

उहाँका अनुसार जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३९५ घरेलु तथा साना उद्योग बन्द गरिएका छन्। कार्यालयमा आएर आधिकारिक रूपमा उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका धेरै उद्योग खारेजीमा परेका छन् ।

बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button