तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्काबाट ल्याइएको बुद्धको अस्तुधातुलाई नगर परिक्रमा

नवलपरासी,पश्चिम् ।श्रीलङ्काबाट ल्याइएको बुद्धको अस्तुधातुलाई नगरपरिक्रमा गराइएको छ।२५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलङ्काबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ ।अस्तु धातुलाई हात्तीमाथि राखेर बुद्धको मावली दाबी गरिएको पण्डितपुरबाट बुद्धको एकमात्र सिङ्गो अस्तधातु रहेको रामग्राम स्तूपसम्म साढे १४ किलोमिटर लामो धातुजात्रा निकालिएको हो ।

धातुजात्रा पश्चात् रामग्राम स्तूपमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्री खड्ग बस्नेतले रामग्राम स्तूपका बारेमा बोल्ने मात्रै काम भएपनी कुनै ठोस काम भने नदेखिएको बताउनुभयो ।

लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको र नगरपालिका आफैले अपनत्व लिएर काम गर्न नसक्ने गरी ऐन बाझिने गरि बनेका कारण सहज नभएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताउनुभयो ।

तिनै तहका सरकारले अपनत्व लिनु पर्ने र स्थानीय समेतले यसको संरक्षण र विकासमा चासो ब्यक्त गर्नु पर्ने यादवको भनाई थियो ।नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम बिहीबार समापन गरिएको छ।लुम्बिनी बिकास कोषले रामग्राम स्तूपको विकासका लागि भन्दै गुरुयोजना बनाएपनि सम्बन्धित निकायको उदासीनताका कारण गुरुयोजना स्वीकृत हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button