तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : सचिव भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरू बीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । 

उहाँले सत्ता साझेदार दलहरू बीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको बताउनुभयो । 

आज पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरू अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । छिमेकी देशहरूमा तीव्र रुपमा विकास भइरहेकाले उनीहरुलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उहाँको भनाइ छ ।

कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उहाँले बताउनुभयो । वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली काङ्ग्रेससँग छलफल गर्न खोजेको तर काँग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उहाँको भनाइ थियो । 

सचिव भट्टराईले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरूलाई सन्तुष्ट बनाएर अघि बढ्ने जानकारी दिनुभयो । कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा ध्रुवीकरण भनेर भन्ने गरे पनि त्यो नभएको उहाँले स्पष्ट पार्नुभयो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी विवादमा परेको विषयमा काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको सन्दर्भमा उहाँले संसदीय छानबिन समिति अन्तिम हतियार भएकाले तत्काल प्रयोग गर्न नहुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button