तपाईँ सुन्दै हुनुहुन्छः

उच्च शिक्षा पुरा गरी आदर्श बिहे गर्ने रेणुलाई ५० हजार प्रदान

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह न्युनिकरण गर्न तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पुर्‍याउन अभियान सुरु गरेको छ ।

गाउँपालिकाले ‘उच्च शिक्षामा छोरीको पहुँच कार्यक्रम’ मार्फत एक नवविवाहित जोडिलाई नगद रु ५० हजार प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडा नं। २ मा उपस्थित भई २२ वर्षिया बेहुली रेणु सिंह र ईश्वरपुर नगरपालिका वडा नं ७ पोखरी टोल बस्ने २९ वर्षीय जितेन्द्र सिंहलाई विवाह स्थलमै पुगी नगद रु ५० हजार हस्तान्तरण गर्नुभयो । गाउँपालिकाले गाउँपालिकामा छोरीहरूको उच्च शिक्षा बिचमै रोकिने परम्परा हटाउन र बालविवाह न्युनिकरण गर्ने निर्णय गरेको थियो ।

तराई मधेशमा अहिले पनि बालविवाह व्यापक हुने गर्दछ । चन्द्रनगरमा भने यो अभियान सँगै परिवर्तन भएको छ । गाउँपालिकाले बालविवाह न्युनिकरण तथा छोरीको उच्च शिक्षामा पहुँच पुर्‍याउन अभियान थालेपछि अभिभावक पनि सचेत बनेका छन् । गाउँपालिका अध्यक्ष महतोले छोरीको उच्च शिक्षामा पहुँच पुर्‍याउन गाउँपालिकाले एउटा छोरीमा ६१ हजार लगानी गरेको बताउनुभयो ।

स्नातक तह प्रथम वर्षमा भर्ना भएका छोरीलाई समेत गाउँपालिकाले नगद रु ११ हजार दिने गरेको अध्यक्ष महतोले बताउनुभयो । उहाँले प्लस २ पास गरी २० वर्ष उमेर पुरा गरी छोरीले बिहे गरेमा त्यस्ता नवविवाहित जोडीलाई ५० हजार र स्नातक प्रथम वर्षमा अध्ययनरत छोरीलाई ११ हजार गरी गाउँपालिकाले ६१ हजार लगानी गरेको बताउनुभयो ।

नवविवाहित दुलहीका बुवा हरदेव कुमार सिंहले आफु सुरुदेखि नै बालविवाहको विरुद्धमा रहेको र छोरीलाई उच्च शिक्षा दिलाउनुपर्छ मान्यता बोकेको हुँदा छोरीले स्नातक तह पढ्न सुरु गरेपछि आदर्श विवाह गरेको सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button