तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाललाई समयानुकूल र प्रतिस्पर्धी बनाउनुपर्छ : सचिव डा.अर्याल 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले रेडियो नेपाललाई समयानुकूल र प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालमा नवनियुक्त कर्मचारीको सेवा प्रवेश अभिमुखीकरणको समापन कार्यक्रममा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका डा.अर्यालले मुलुकमा निजी सञ्चारमाध्यममा थपिँदै गएको अवस्थामा रेडियो नेपालले आफ्ना कार्यक्रमहरू जनमैत्री र मिठासपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले रेडियो नेपाल मुलुकको जेठो प्रसारण संस्था भएकाले यसले प्रयोग गर्ने भाषा शैली सरल र बोधगम्य हुनुपर्ने बताउनुभयो ।

उहाँले रेडियो नेपाललाई अब्बल बनाउन नयाँ कर्मचारीको जोस जाँगर र कार्यरत कर्मचारीको अनुभव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नवनियुक्त कर्मचारीहरूलाई इमानदारीताका साथ लगनशील भएर आ–आफ्ना क्षेत्रमा काम गर्न  निर्देशन दिनुभयो ।

उहाँले नवनियुक्त कर्मचारीलाई रेडियो नेपालको उद्देश्य र लक्ष्य प्राप्तिका लागि कटिबद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक केसीले वर्तमान युग प्रविधिको युग भएको भन्नुहुँदै प्रविधिको उच्चतम प्रयोगमार्फत रेडियो नेपाललाई नयाँ शैलीबाट अगाडी बढाउनुपर्ने बताउनुभयो । 

यही मङ्सिर १८ गतेदेखि सञ्चालन गरिएको अभिमुखीकरणमा विभिन्न सेवा समूहका २९ जना नवनियुक्त कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तस्बिर : टोमराज मेहेता

प्रतिक्रिया राख्नुहोस्

Back to top button