तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप : आयोजक सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको १६ औँ संस्करणको चौथो दिन भएको खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा सिराहाको सल्हेस फुटबल क्लबलाई १–० ले पराजित गर्दै आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ६६ औँ मिनेटमा धनकुटाका बुद्ध चेम्जोङको पासमा खमिर गुल्सन कन्दङ्वाले गरेको गोल नै निर्णायक बनेको थियो ।

धनकुटाका गोल किपर प्रदीप भण्डारीले खेलको ५८ मिनेटमा सल्हेसका फागुराम थारुले प्रहार गरेको पेनाल्टी सहित दर्जनौँ प्रहारको बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच भएका भण्डारीले नगद ५ हजार ५ रुपैयाँ हात पारे ।

योसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ । सेमिफाइनलको खेल बिहीबार एपीएफ क्लब काठमाडौँ र राष्ट्रिय जागृति क्लब सुनसरीबिच तथा शुक्रबार विर्तामोड युनाइटेड क्लब झापा र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान बीच हुने छ ।

शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोलकर्ता, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो ।

२०५५ सालमा शुरु भएको प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button