तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ : प्रमुख सचेतक लेखक 

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताउनुभएको छ । 

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उहाँले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बौँ रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँ भन्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।   

प्रमुख सचेतक लेखकले जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताउनुभयो ।

देश र जनताका महत्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उहाँले यसपटक पहिलाको जस्तो छायाँ सरकार बनाएर अघि बढ्ने मनस्थितिमा कांग्रेस नरहेको जानकारी दिनुभयो ।  

यसैबिच नेपाली कांग्रेस संसदीय दलको बैठक भोली दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button