तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा निषेधाज्ञा जारी

धनगढी । कैलालीमा सडक निर्माणका क्रममा ग्रेडरले किचेर एक जना छात्राको मृत्यु भएको घटनापछि उत्पन्न तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले धनगढी उपमहानगरपालिका क्षेत्रको (पूर्वमा वडा नं १ पुरानो फुलवारी बसपार्क, पश्चिममा वडा नं ४ रातोपुल, उत्तरमा वडा नं ५ सामुदायिक प्रहरी सेवा केन्द्र र दक्षिणमा वडा नं १ र २ स्थित हुलाकी राजमार्ग) चार किल्लाभित्र आज बेलुकी ७ बजेदेखी अर्को आदेश जारी नभए सम्मका लागि निषेधाज्ञा लागू गरिएको बताउनुभयो ।

उहाँले घटनापछि प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधरण नागरिकको जनधनको रक्षा र सरकारी सम्पतिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्नका लागि निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो ।

निषेधाज्ञा लागू भएको क्षेत्रमा भेला, प्रदर्शन, आवातजावत, सवारी साधन संचालन गर्न नपाइने र त्यस्ता गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुने स्थानीय प्रशासनले जनाएको छ ।

आज बिहान साइकलमा विद्यालय जाँदै गरेकी चेतना साउदको धनगढी ५ हसनपुर क्षेत्रमा चालकले ग्रेडर ब्याक गर्ने क्रममा किचेर मृत्यु भएको थियो ।

पञ्चोदय माविमा कक्षा ८ मा अध्यनरत चेतनाको मृत्यु पछि विधार्थीले दोषीमाथि कारबाहीको माग गर्दै दिनभर धनगढीमा प्रदर्शन गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका ६ मा घर भएकी उनी धनगढीमा बसेर पठनपाठन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button