तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रे २ मा मतान्तर घटाउँदै गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा नेकपा (एमाले) का उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले आफ्नो प्रतिस्पर्धी उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाइँसँगको मतान्तर घटाउँदै लग्नुभएको छ ।

मङ्गलबार बिहान झण्डै चौध सय मतान्तरसहित अघि बढ्नुभएका काङ्ग्रेसका उम्मेदवार हुमागाइँसँगको मतान्तर घटाउन बाँस्कोटालाई बनेपा नगरपालिकाको मतगणनाले सघाएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको मतगणना सकिँदा करिब चौध सयको मतान्तरमा रहनुभएका बाँस्कोटाले आज राति साढे नौ बजेसम्म चौध सयबाट मतान्तरलाई ५२७ मा झार्नुभएको छ । बनेपा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ नम्बरको मतले बाँस्कोटाको मतान्तर कम भएको हो ।

अहिलेसम्म काङ्ग्रेसका शिव हुमागाइँले आठ हजार ३६१ मत प्राप्त गर्नुभएको छ । एमालेका बाँस्कोटाले सात हजार ८३४ मतका साथ पछ्याइरहनुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले दुई हजार ३९४ मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभा २ को प्रदेश सभा (क) मा नेकपा समाजवादीका लक्ष्मण लम्साल एमालेका कुमार खकुरेललाई ८३५ मतान्तरले पछि पार्नुभएको छ । लम्सालले दुई हजार ५११ र एमालेका खकुरेलले एक हजार ६४६ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा काङ्ग्रेसका कञ्चनचन्द्र वादे एमालेका उम्मेदवार कुमार थापाभन्दा १०८ मतले अगाडि हुनुहुन्छ । काङ्ग्रेसका वादेले ६७६ मत र एमालेका थापाले ५६८ मत पाउनु भएको छ ।

यसैगरी जिल्लाको प्रतिनिधि सभा १ तर्फ गठबन्धन दल माओवादी केन्द्रका सूर्यमान तामाङ दोङले एमालेका उम्मेदवार रेशम लामासँग मतान्तर बढाउँदै लैजानु भएको छ । राति साढे नौ बजेसम्म माओवादीका दोङले तीन हजार ४६८ मत र एमालेका लामाले दुई हजार २९७ मत पाउनु भएको छ । दोङ र लामाबीच एक हजार १७१ मतको अन्तर रहेको छ ।

यस्तै प्रतिनिधि १ अन्तर्गतको प्रदेश सभा (क) मा एमालेका दिलबहादुर तामाङ नेकपा माओवादी केन्द्रका रत्न ढकालभन्दा ११३ मतले अगाडि हुनुहुन्छ । तामाङले एक हजार ७८८ मत र ढकालले एक हजार ६७५ मत पाउनु भएको छ ।

प्रदेश सभा (ख) अन्तर्गत काङ्ग्रेसका तीर्थबहादुर लामा एमालेका चन्द्रबहादुर लामाभन्दा एक हजार ३५५ मतान्तरले अघि हुनुहुन्छ । काङ्ग्रेसका लामाको तीन हजार ६४३ मत र एमालेका लामाको दुई हजार २८८ मत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button