तपाईँ सुन्दै हुनुहुन्छः

निधारमा अक्षता र शिरमा जमरा कृषि र पशुपालनलाई प्रोत्साहन

हिन्दु परम्परामा विजयादशमीका दिन निधार भरी रातो अक्षताको टिका र शिरमा जमरा लगाई ठुलाबडासँग आशीर्वाद लिने प्रचलन छ । मानिसको आस्था, मर्यादा, पहिचान र संस्कृतिलाई सङ्केत गर्ने चिह्नका रुपमा अक्षताको टिका र जमरालाई लिने गरेको पाइए पनि दसैँमा टिका र जमरा लगाउने प्रचलन योग, ध्यान र कृषिकर्मीसँग पनि जोडिएको जानकारहरू बताउँछन् ।

आफूभन्दा ठूला मान्यजन र आफन्तबाट निधारभरि टिका लगाएर आशीर्वाद लिने चलन छ । चामलमा रातो अबीर, दही, केरा, चिनी मिसाएर तयार पारी निधारमा लगाइने टिकाको अर्थपूर्ण महत्त्व रहेको पाइन्छ । अक्षताको टिका निधारको मध्य भागको आज्ञा चक्रमा लगाइन्छ । यो दुवै आँखीभौँको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा भनिन्छ । ठुलाबडा, मान्यजनले धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्व सम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख्नु भनेर टिका लगाइ आशिस दिने चलन रहआिएको विद्धानहरू बताउँछन् । सनातन धर्म र संस्कृतिबारे अध्ययन गर्नुभएका नारायण भण्डारी आफूभन्दा ठुलाले दिएको आशिष ग्रहण गर्न र आज्ञाचक्र बलियो बनाउन अक्षताको टिका लगाउने प्रचन रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –’ अक्षताको टिका आज्ञा चक्रलाई सक्रिय बनाउन र अरुबेला जे जे सोचे पनि टिका लगाएपछि नकारात्मक कुरा नसोच्न लगाइन्छ । ’

जौ, मकै तथा धानलाई वैदिक कालदेखि नै पोषणका रुपमा लिइने गरिन्छ । जौलगायतको जमरालाई विजया दशमीका दिन देवी भगवतीको प्रसादका रुपमा पनि लगाउने चलन छ । अखण्ड चामलको अक्षता बनाइ टिका लगाउने चलन विश्वमा नेपालमा मात्रै पाइन्छ । जौको जमरा र चामलको अक्षतालाई कृषि र पशुपालनको सभ्यताको उपजका रूप हेरिन्छ । संस्कृतिविद् प्रा.डा. माधव भट्टराई पनि निधारमा अक्षताको टिका र शिरमा जमरा कृषि र पशुपालनकर्मीसँग जोडिएको बताउनुहुन्छ । ’टिका मुछ्न चाहिने दहीका लागि पशुपालन अनिवार्य छ ।

अक्षताका लागि चामल फलाउनैपर्यो ।’ संस्कृतिविद् भट्टराईले बताउनुभयो । विजया दशमीका दिन हिन्दुहरूले अक्षतामा दही र अबीर मिसाएर लगाउँछन् भने किरात तथा बौद्धधर्मीहरुले भने सेतो अक्षता लगाउने गरेको देखिन्छ । विजया दशमीको टिका कतै टिकाको दिनमात्रै लगाइन्छ भने कतै कोजागत पूर्णिमासम्म लगाइन्छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व राख्ने दशैको टिका र जमरा अलग्लै पहिचान पनि हो । निधारमा लगाइने टीकाको महत्त्व मानव चेतनासँग पनि जोडिएको छ । रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक पनि हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button