तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक तरकारी खेतीबाट घर घडेरी 

सल्यान । इच्छा शक्ति, सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन । आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएको छ सल्यान बागचौर नगरपालिका ३ रातपहराका खुमराज भण्डारीले ।

विगत १५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भण्डारीले वार्षिक १२ लाख भन्दा बढी आम्दानी गर्दै आइरहनुभएको छ । परम्परागत अन्नबाली भन्दा चार गुणा बढी आम्दानी व्यावसायिक तरकारी खेतीबाट भइरहेको उहाँले बताउनुभयो । 

१० रोपनी क्षेत्रफलमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका भण्डारीले तरकारी खेतीबाट नै बागचौर नगरपालिकाको केन्द्र थारमारेमा ८ रोपनी जमिन र एउटा घर जोड्नुभएको छ । उहाँले भन्नुभयो ‘वर्षमा विभिन्न तरकारी ती सिजन लगाउने गरेको छु, महिनामा एक लाखसम्म आम्दानी हुने गरेको छ ।’ 

रोजगारीकै लागि धेरै युवा विदेश पलायन भइरहँदा थोरै लगानीमा व्यवसाय गरे धेरै आम्दानी गर्न सकिने बताउनुभयो । परम्परागत खेतीबाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको उहाँको अनुभव छ । ‘गरे के हुँदैन र यहीँ मनग्य आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो । 

उत्पादन भएको तरकारी बिक्रीका लागि खासै समस्या नभएको बताउँदै उहाँले  खेतीबाट आएको आम्दानीबाट जग्गा, घर मात्र नभएर एक भाइ र छोराछोरीलाई काठमाडौँमा पढाइरहेको बताउनुभयो । 

उत्पादित तरकारी स्थानीय बजार, थारमारे, बागचौर, श्रीनगर लगायत दाङसम्म पुग्ने गरेको भण्डारीले बताउनुभयो । उर्वर माटोमा गाइभैँसीको मलबाट किटनाशक औषधि प्रयोग नगरी उत्पादन गरिएको टमाटर, काउली, बन्दा, साग लगायतका तरकारी राम्रो भाउमा बिक्री वितरण भइरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button