तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरले थाल्यो अन्डरग्राउन्ड पार्किङ

कास्की  । पोखरा महानगरपालिकाले भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला अभियान सुरु गरेको छ । सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनबाट पार्किङ सुरु गरिएको  हो । महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुल्ला गरेको हो ।


यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो ।  सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले बताउनुभयो ।

 बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताउनुभयो ।  सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button