तपाईँ सुन्दै हुनुहुन्छः

अन्धकारमय टाँगिया बस्तीमा पुग्यो बिजुली

बारा । विद्युत् अभावमा लामो समयदेखि टुकी र सोलारको सहारा लिँदै आएका  बारास्थित टाँगिया बस्तीका बासिन्दाहरू बिजुली पुगेपछि हर्षित भएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण लामो समयदेखि अन्धकारमा रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टांगियाबस्तीमा शनिवार साँझ बिजुली पुगेको छ । विमानस्थल निर्माण योजनाका कारण सरकारी सेवा सुविधाबाट बञ्चित रहँदै आएको टांगियाबस्तीमा बिजुली पुगेको हो । 

टांगियावासीको आन्दोलन र पटक पटकको आग्रहपछि नेपाल विद्युत् प्राधिकरणले झण्डै अढाई करोडको लगानीमा विद्युतीकरण गरेको हो । टाँगियामा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले दुई करोड ३४ लाख रकम खर्चिएको छ । प्राधिकरणले ११ केभीको लाइन करिब सात किमी र एलटी लाइन करिब २० किलोमिटर विस्तार गर्दै विद्युतीकरण गरेको हो ।

रुख कटान गर्न नपर्ने गरी विद्युतीकरण गर्दा प्राधिकरणले वन क्षेत्रमा इन्सुलेटेड कभर्ड कन्डक्टरको प्रयोग गरेको छ । प्राधिकरणले उक्त क्षेत्रमा ११ मिटरको बिजुली पोल एक सय ६१ थान र चार सय १३ थान ८/९ मिटरको पोलबाट विद्युतीकरण गरेको हो । उक्त कार्यका लागि १०० केभिएको चार वटा ट्रान्सफर्मर प्रयोग भएको छ ।

प्राधिकरणले चैत्र महिनामा विद्युतीकरणको काम सुरु गरेको प्राधिकरणले भदौमा सम्पन्न गरेको हो । विविधीकरण भएपछि एक हजार चार सय ७६ घरधुरी रहेको टांगियाबस्तीमा हालसम्म चार सय ५० घरमा मिटर जडान भइसकेको छ ।चाडपर्वको समयमा गाँउमा बत्ती पुग्दा स्थानीयमा उत्साह थपिएको छ ।

सरकारले सुरु गरेको वन संरक्षण कार्यक्रम २०४६ सालमा स्थगित भएपछि वन हेरालुका रुपमा रहेका नागरिक त्यसयता टांगियाबस्तीमा बसोबास गर्दै आएका थिए । उजाड क्षेत्रमा वृक्षारोपण गर्ने र पहाडको खेती तराईमा लगाउने कार्यक्रम अन्तर्गत सरकारले २०३२ सालमा काभ्रेसहित विभिन्न जिल्लाबाट नागरिकलाई वन हेरालुका रुपमा बारा ल्याएको थियो । उक्त कार्यक्रम २०४६ सालमा बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले स्थगित गरेपछि अलपत्र परेका नागरिक सरकारकै आग्रहमा टाँगियामा बसोबास गर्न थालेका हुन् । 

करिब डेढ सय घरपरिवारबाट सुरु भएको टाँगियाको बस्ती अहिले करिब दुई हजार पुगिसकेको छ ।सरकारकै अनुरोधमा अस्थायी बसोबास गर्दै आएका टांगियाबासी त्यसयता भने सरकारी सुविधाबाट बञ्चित रहँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button