तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीकै प्रसिद्ध चन्दनाथ भैरवनाथ मन्दिरमा लिङ्गो फेरियो

जुम्ला । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जुम्ला सदरमुकामस्थित चन्दननाथ भैरवनाथ मन्दिरको लिङ्गो फेरिएको छ । 

परम्पराअनुसार घटस्थापनाका दिन आज मन्दिरमा नयाँ लिङ्गो हालिएको हो । 

मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातको ध्वजा तथा नेजा हालिएको छ । सयौँ भक्तजन, सुरक्षाकर्मीको सहभागितामा मन्दिरमा नयाँ लिङ्गो हालिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताउनुभयो । 

“चन्दननाथ मन्दिरमा लिङ्गो हालेपछि मात्रै मात्रै कर्णाली क्षेत्रमा घटस्थापना भित्राउने चलन छ । जुम्लामा चन्दननाथकै माटो लिएर घरमा जमरा राख्ने गरिन्छ । वर्षेनी घटस्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो हाल्ने चलन छ ।”, उहाँले भन्नुभयो ।

एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातकै ध्वजा राख्ने प्रचलन रहेको जुम्लाका संस्कृतिविद् रमानन्द आचार्य बताउनुहुन्छ । 

उहाँका अनुसार घटस्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्गा फेरिएको छ । 

लिङ्गो ठड्याउँदा नेपाली सेनाले तोप सहितको सलामी दिने गर्छन् । मन्दिरमा विजय स्तम्भसहित दुई वटा लिङ्गो ठड्याइन्छ । बिहानैदेखि भक्तजन तथा सुरक्षाकर्मीको बाक्लो सहभागितामा लिङ्गो हालिन्छ । लिङ्गोमा फूल अछेता, पैसा हाल्नेको भिड पनि बाक्लो हुने गरेको छ । 

मनको इच्छा पुरा हुने, माटो लिँदा उब्जनी बढ्ने, पुरानो लिङ्गोको ध्वजा लिएर लगाउँदा भूतप्रेत नलाग्ने जस्ता सामाजिक मूल्यमान्यता अहिले पनि कायमै रहेका कारण लिङ्गो फेर्दा बाक्लो भिड हुने गरेको समेत गुठीका अध्यक्ष कठायतले जानकारी दिनुभयो । 

चन्दननाथ भैरवनाथ मन्दिरमा लिङ्गो खडा गरेसँगै घर घरमा घटनास्थापना भित्राएपछि मात्रै जुम्लामा औपचारिक दसैँ सुरु भएको मानिन्छ । साथै घटस्थापनाका दिन नयाँ मार्सी धानको चामल समेत मन्दिरमा चढाउने गरिन्छ । जसलाई स्थानीय भाषामा (न्वागी) भन्छन् । 

न्वागीका रूपमा मन्दिरमा मार्सी धानको शिख चढाएपछि उत्पादन वृद्धि हुने समेत मान्यता रहेको स्थानीय चित्रलाल श्रेष्ठले बताउनुभयो । 

“मन्दिरको माटो लिएर खेतमा हाल्ने र जमरा राख्ने चलन छ । तर विगतको जस्तो स्थानीयको सक्रियता देखिन्न । सुरक्षाकर्मीकै भरमा लिङ्गो फेर्नु पर्ने अवस्था छ । भक्तजनको आर्कषण घट्दै जानुले मन्दिरको पूजाआजाका कामहरू प्रभावित छन् ।”, उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले मन्दिरको सुरक्षा व्यवस्थापनमा कुनै कसुर नराख्ने बताउनुभयो । 

“चाडपर्वलक्षित सुरक्षा योजना पनि बनाएका छौँ । चाडपर्वमा हुने सक्ने घटनाहरूको न्यूनीकरणमा प्रहरी प्रशासन लागि परेको छ ।”, प्रजिअ अधिकारीले भन्नुभयो । 

स्थानीय तहका प्रमुख उपप्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख सयाँै भक्तजन र सुरक्षाकर्मीको सहभागितामा चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button