तपाईँ सुन्दै हुनुहुन्छः

जहाँको माटाे नै बिक्छ ( फोटोफिचर) 

पाँचथर । दसैँको चहलपहल बढेसँगै पाँचथरको फिदिममा रातो माटोको कारोबारमा वृद्धि भइरहेको छ । फिदिम नगरपालिका – ४ चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा वर्षेनी बिक्री हुने गर्दछ । 

पहाडी क्षेत्रमा ढुङ्गा माटोले बनेको घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ८० देखि १ सय  रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । यहाँको रातोमाटो पाँचथर जिल्लासँगै  तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङ, इलाम र झापासम्म पनि बिक्री हुने गर्दछ । चारखम्बे र भदौरेमा  निस्किएको रातोमाटो किन्न टाढा टाढाबाट यहाँ सम्म मानिसहरू आउने गरेका छन् । रातोमाटो बेचेरै राम्रो आम्दानी हुने गरेको माटो व्यवसायी उषा लावतीले बताउनुभयो ।   

दसैँ आसपासको समयमा यस स्थानबाट दैनिक ५ हजार बोरा माटो बिक्ने गरेको छ । रातोमाटो बेचेर यहाँको स्थानीयको राम्रो आम्दानीको स्रोत बनेको छ । चार खम्बे क्षेत्रका एक दर्जन परिवारले व्यवसायीक रुपमा माटो खनेर बेच्ने गरेका छन् । अरू ठाउँमा पाइने रातोमाटो भन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटो खरिद गर्ने गरेको ग्राहकको भनाई छ ।

दसैँको समयमा रातोमाटो बेचेर मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको माटो बिक्रेताको भनाइ छ । फिदिम नगरपालिका ४ चारखम्बेमा मात्र रातो माटो पाइने भएकोले यस क्षेत्रमा आफ्नै जग्गा नहुनेहरूले पनि जग्गाधनीलाई प्रतिबोरा १५ रुपैयाँ दिएर रातोमाटो निकालेर बिक्री गरिरहेका छन् । चाडपर्व बाहेक अन्य समयमा पनि जिल्लाका विभिन्न ठाउँबाट  माटो किन्नेहरू आउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button