तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयबाट ऋण लिएर पढाइसँगै व्यवसाय गर्दै विद्यार्थी 

सल्यान । खेती किसानी गर्ने भन्दा धेरैले नाक खुम्च्याउने गर्छन् । त्यस युवा पुस्ताहरू खेती किसानी तर्फ खासै आकर्षित भएको पाइँदैन । विदेशमा गएर ज्याला मजदुरी गर्न तयार हुने तर आफ्नै खेतबारीमा कुटो कोदालो गर्न युवाहरू हिच्किचाउछन् । 

तर कति पय यस्ता युवाहरू पनि छन् जो विद्यालयमा पनि ऋण लिएर खेती किसानी गर्दै आइरहेका छन् । 

शिवजन माविका प्राविधिक धारअन्तर्गत पर्ने तीन वर्षे बाली विज्ञान (बीएसएएजी), १८ महिने कृषि जेटीए, भेटेरिनरी, वन प्राविधिक पढ्ने झन्डै ५० जना विद्यार्थीको पाँच समूहले पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन् । व्यवसायतर्फ उन्मुख गर्न पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले तरकारी, फूललगायत बेर्ना उत्पादन गर्न बिउ, टनेलसहितको जग्गा उपलब्ध गराउनुका साथै उत्पादित वस्तु बिक्रीको व्यवस्थासमेत गरेपछि विद्यार्थीहरू पढ्दै तरकारी खेती गर्दै कमाउँदै गर्न थालेका हुन्  ।

पढ्दै तरकारी खेती गर्दै कमाउँदै गर्न थालेपछि अहिले पढाई खर्च, कोठाभाडा खर्च, खाने खर्च लगायत अन्य खर्चका लागि घरको भर पर्न नपरेको कृषि डिप्लोमा पढ्दै आएकी बनगाड कुपिण्डे नगरपालिकाकी वर्ष १९ की भूमा बस्नेतले बताउनु भयो । पढ्दै, कमाउँदै कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको उहाँको भनाई छ ।

हाम्रो अहिले आठ जनाको एउटा समूह छ । समूहलाई विद्यालयले एक टनेल उपलब्ध गराएको छ । त्यसमै तरकारी बिउ उत्पादन, तरकारी खेती गर्दै आएका छौँ । 

एक सिजनमा ३५ देखि ७० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छौ उहाँले भन्नु भयो ‘पहिला घरबाट अड्कलेर ल्याएको रुपैयाँले एक महिना खर्च जुटाउन गाह्रो हुन्थ्यो । पैसा सकिने बित्तिकै फोन गर्ने हुन्थ्यो । साथीभाइसँग सापटी लिने हुन्थ्यो अहिले त्यस्तो समस्या छैन । धेरै सहज भएको छ ।’

आफ्नो समूहले अहिले काउलीको बेर्ना उत्पादन गरेको र दैनिक एक हजारदेखि १५ सयसम्मको बिक्री गरिरहेको छात्रा सुजीता रानाले बताउनु भयो । कार्यक्रमले पढाइसँगै आफूहरूलाई व्यावसायिक बनाउन उत्साहित गरेको र पछि गएर बेरोजगार भएर बस्न नपर्ने उहाँको बुझाई छ । पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्न थालेपछि धेरै राहत भएको  रानाको भनाइ छ ।

प्राविधिक धारअन्तर्गतका विद्यार्थीका लागि सरकारले पढाउँदै‚ कमाउँदै कार्यक्रम लागू गरेर विद्यालयलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको र त्यहीँबाट एक समूहलाई तरकारी खेती गर्न २५ हजार रुपैयाँ फिर्ता गर्ने गरी अनुदान दिँदै आएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनु भयो 

विद्यालयले विद्यार्थीलाई तरकारी खेती गर्न जग्गा, टनेल, बिउलगायत कृषि औजार उपलब्ध गराउँदै आएको उहाँले जानकारी गराउनु भयो । उत्पादित वस्तु बिक्री गर्न तरकारी बिक्री केन्द्रसमेत विद्यालय परिसरमा स्थापना गरेको बताउँदै उहाँले विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्री केन्द्रमा मार्फत बिक्री हुने गरेको नेपालीको भनाई छ । उहाँले भन्नु भयो ‘यो कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयमा ११र१२ मा अध्ययनरत अन्य विद्यार्थीलाई पनि सहभागी गराउन थालेका छौ ।’ 

यस कार्यक्रमबाट अन्य विद्यार्थी पनि  उत्साहित भएकाले सरकारले उपलब्ध गराएको अनुदान र जग्गा पर्याप्त नभएकाले विद्यालयको स्रोतबाट थप जग्गा भाडामा लिने तयारी भइरहेको नेपालीले बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button