तपाईँ सुन्दै हुनुहुन्छः

आँधीका कारण फिलिपिन्सका कक्षा र कार्यालय बन्द

मनिला।आँधीको खतराका कारण फिलिपिन्सका धेरै ठाउँमा विद्यालयका कक्षा कोठा र सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड रोमाल्डेज मार्कोसले मेट्रो मनिला र अरु छ प्रान्तमा मङ्गलबार र बुधबार कक्षा तथा कार्यालय बन्द गर्ने निर्देशन जारी गर्नु भएको हो ।

सञ्चार सचिव रोज बेट्रिक्स क्रुज एन्गेल्सले लगुना, रिजाल, बुलाकान, काभित, जाम्बालीज र बतान प्रान्तमा अध्ययन अध्यापन र कार्यालयको काम बन्द गरिएको जानकारी दिनुभयो ।

अत्यधिक वर्षापछि ठूलो आँधी समेत आउने प्रक्षेपण गरिएकाले स्थानीय बासिन्दालाई बाहिर ननिक्लिन बिदा दिइएको उहाँको भनाई छ ।

उहाँका अनुसार स्वास्थ्य सेवाका कर्मचारी तथा कार्यालय र अन्य अत्यावश्यक सेवा भने बन्द गरिएको छैन ।

मङ्गलबार आएको वर्षा र आँधीले धेरै मानिसलाई प्रभावित पारेको मौसम विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान १०.३० मा देशको उत्तरी क्षेत्रबाट आँधी आएको थियो । शक्तिशाली हावाहुरी र वर्षाले केही भौतिक क्षति गराएको छ भने मानवीय क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ ।

प्रतिघण्टा ११० देखि १८५ किलोमिटरको गतिमा झण्डै चार घण्टा आँधी आएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मौसमविद र सरकारी अधिकारीहरूले आँधीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

आँधीका कारण लुजन क्षेत्रका झण्डै पाँच सय मानिस विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी आश्रयको व्यवस्था गरिएको सरकारको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button