तपाईँ सुन्दै हुनुहुन्छः

बादी बस्तीका १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण

कैलाली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताउनु भएको छ । 

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरूको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको हक अधिकार स्थापित गर्न भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढिसकेको पनि बताउनुभयो ।

नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेको र रोजगारी खोज्न बाहिर हिँड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । 

उहाँले भूमिहीनलाई लालपूर्जा वितरणको काम अभियानको रुपमा अगाडी बढाइएको र हालसम्म गउँव्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपूर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको बताउनुभयो । 

मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिने गरी काम गरिरहेको पनि बताउनु भयो । 

उहाँले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरूमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरूको ऋण मोचन गर्ने आफू लागि परेको पनि बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button