तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ कार्यक्रम शुरुवात

झापा । नेपाल अलैँची व्यवसायी महासङ्घले नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम शुरुवात गरेको छ ।

अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले स्विस सरकारको सहज कार्यक्रम अन्तरगत वाह अलैँची कार्यक्रम शुरुवात गरेको हो । स्विस कार्यक्रम मार्फत नै मास्टर सेफ सन्तोष शाहलाई अलैँचीको ब्राण्ड एम्बास्डर नियुक्त गर्दै कार्यक्रमको शुरुवात गरिएको हो । १ नम्बर प्रदेश सरकारको समेत सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले गर्नुभयो ।

बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दर्लामीले नेपालमा उत्पादित अलैँची विश्व बजारमा प्रख्यात रहेपनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैँचीका विषयमा जानकारी दिनु पर्ने बताउनुभयो । उहाँले अलैँची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिना, उद्योग वाणिज्य महासङ्घका प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, महासङ्घका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे लगायतले बोल्नु भएको थियो ।

नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको अलैँची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अलैँची खेती हुँदै आएको र वार्षिक करिब पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button