तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कला संस्कृति पर्यटनको आधार हो: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कला संस्कृति पर्यटनको आधारको रुपमा रहेको बताउनुभएको छ ।

सोमवार नेपाल व्यावसायिक कलाकार सङ्घले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनारी दिने बताउनुभयो ।

नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुहुँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनाबद्ध रुपमा अघि बढाइएको बताउनुभयो ।

काठमाडौँको पर्यटन विकासका लागि सम्पदा मार्ग निर्माण गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले सम्पदा मार्ग निर्माण प्रक्रिया समेत अघि बढिसकेको बताउनुभयो ।

कार्यक्रममा ‘चित्र कवि’ का रुपमा परिचित सुरेशकुमार द्यःलाले बिस बर्ष लगाएर ‘सत्यम्, शिवम्, सुन्दरम्’ कृति तयार गरेको बताउनुभयो । द्यःलाले शिवशङ्करको पुराणमा आधारित चित्रहरूमार्फत शिवको महिमा पुस्तकमा चित्रण गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार मदन चित्रकारलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button