तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाले नेपाललाई १ करोड ५० लाख डलर सहयोग गर्ने

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई विश्वव्यापी खाद्य सङ्कटको जोखिमबाट बच्न १ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार यस आर्थिक सहायताले बढ्दो मूल्य र अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुरा सुनिश्चित गर्न मद्दत गर्नेछ ।

यस सहयोगले स्थानीय स्तरमा थप खाद्यान्न उत्पादन गर्न साना कृषकहरूलाई मद्दत पुग्ने साथै पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई पोषणयुक्त खाना उपलब्ध गराउन सहयोग पुर्‍याउने दूतावासले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

युएसएआईडी नेपाल मिसनका कार्यवाहक निर्देशक बेथ होगनले धान मकै लगायतका बालीहरूको उत्पादन मलको अभावले घट्दै गएको समयमा यो सहयोगले नेपालको कृषि क्षेत्र र किसानहरूलाई मद्दत पुर्‍याउने बताउनुभयो ।

अमेरिकी दूतावासले खाद्य असुरक्षा विरुद्ध लड्न र गरिबी, भोकमरी र कुपोषणलाई निर्मूल गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न यस आर्थिक सहायताले मद्दत गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button