तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्गीय गिरीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरीको पार्थिव शरीर आज पशुपति–आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय गिरीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यसैगरी आर्यघाट पुगेर नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वर्गीय गिरी प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरीप्रति सलामी अर्पण गरेको थियो भने उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभयो ।

लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरीको गएराति निधन भएको थियो । गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि यसअघि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

समाजवादी चिन्तक स्वर्गीय गिरी प्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू उच्चपदस्थ व्यक्ति एवं विभिन्न दलका शीर्ष नेताहरू सानेपा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । स्व गिरीका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button