तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनका निवर्तमान नगरप्रमुख र उपप्रमुख नेकपा (एस) मा प्रवेश

पाल्पा । तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही, उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरू नेकपा (नेकपा एकिकृत समाजवादी) पार्टी मा प्रवेश गर्नुभएको छ ।

उहाँहरूले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एकिकृत समाजवादी पार्टी प्रवेश गरेको जनाउनु भएको छ । नेकपा एमालेभित्रबाट विभिन्न घटनाक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको भन्दै उक्त पार्टी परित्याग गरी नेकपा एसमा समाहित भएको नेताहरूले जनाएका छन् । 

नेकपा(एमाले) को नवौं महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा विपरीत पार्टीको माथिदेखि तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थाल्यो । पार्टीका नीति, सिद्धान्त, विचार र पद्धति कुल्चिने काम भएको छ । नेतृत्वमा रहनेहरूको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नागरिकले विश्वास गरेकै कारण दुई तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु दुई÷दुई पटक संसद् विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद् पुनः स्थापना गर्दा पनि पार्टी भित्र समीक्षा गर्न तयार नहुनु संविधान विरोधी गैर मार्क्सवादी चिन्तन र गुट स्वार्थ मुख्य कारण हो भन्ने आम ठम्याइलाई बेवास्ता र त्यसको असरप्रति नेतृत्व तहमा संवेदनशीलता नदेखिनु दुःखद पक्ष भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एसमा प्रवेश गर्नेहरूमा निवर्तमान नगरप्रमुख शाही सहित निवर्तमान उप प्रमुख लक्ष्मी देवी पाठक, भीम बहादुर कुमाल, रामप्रसाद घिमिरे, शिब थापा, विनीता लुइँटेल, सुजेन्द्र कार्की, बुद्धे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, विनोद लुइँटेल, कृष्णकुमारी केसी, माधव प्रसाद पाठक, केशव प्रसाद घिमिरे, कृष्ण प्रसाद पाठक, उमेश घिमिरे लगायत नेताहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button