तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङबाट माओवादीमा तीन सचिव

बागलुङ । यहाँका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुग्नुभएको छ । शिक्षामन्त्रीसमेत रहनुभएका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिनुभएको हो ।

शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उहाँहरूसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुनुहुन्छ । तीनै नेता पार्टी स्थायी समिति सदस्य हुनुहुन्छ । शर्मा विसं २०६८ शिक्षामन्त्री हुनुभएको थियो ।

शाक्य अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसमेत हुनुहुन्छ । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जिल्लाले केन्द्रीय नेतृत्व पाउनु सुखद् रहेको बताउनुभयो । “अग्रज, पार्टीमा योगदान दिनुभएका र योग्य व्यक्तित्व नेतृत्वमा पुग्नुभएको छ”, उहाँले भन्नुभयो, “योसँगै जिल्लामा पार्टी निर्माण र सङ्गठन सुदृढीकरणमा पनि सकारात्मक योगदान रहने हाम्रो विश्वास छ ।”

उहाँले जिल्लाले नेताहरू जन्माए पनि जनस्तरमा पार्टी निर्माणको गति अपेक्षितरूपमा अगाडि बढ्न नसकेको उल्लेख गर्नुभयो । स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङलाई चयन गरेको छ ।

यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ ।

दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की सचिवमा चयन हुनुभएको छ । कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button