तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकामै करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता गर्न पाउँदा व्यवसायी हर्षित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामै करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता सम्बन्धी काम भएपछि व्यवसायीहरू हर्षित भएका छन् । 

उद्योग वाणिज्य संघ नेचासल्यानले करदाता सेवा कार्यालय ओखलढुङ्गासँगको सहकार्यमा दुई दिनसम्म नेचाबिहिबारे बजारमा सञ्चालन गरेको करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता शिविरले स्थानीय व्यवसायी लाभान्वित भएको हुन् ।

गाउँपालिका उपाध्यक्ष विना राईले शिविरले पालिका भित्रका व्यवसायीहरूलाई करको बारेमा जानकारी गराउँदै  करको दायरामा ल्याउन सहयोग गरेको बताउनुभयो । 

उहाँले गाउँमै शिविरको आयोजना गरी व्यवसायीलाई करमा दर्ताकै लागि अर्को जिल्ला ओखलढुङ्गामा रहेको कर कार्यालयसम्म जानुपर्ने झन्झटबाट मुक्त गराउने उद्योग वाणिज्य संघ नेचासल्यानको पहल सह्रानीय भएको बताउनुभयो ।

उद्योग वाणिज्य संघ नेचासल्यानका अध्यक्ष हेमराज भट्टराईले स्थानीय व्यवसायीको सहजताका लागि शिविरको आयोजना गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँघरमा साना साना व्यवसायी समेत हुने भएकाले उनीहरुलाई समय र खर्चका हिसाबले पनि ओखलढुङ्गा पुगेर लाइन बसेर दर्ता गर्न असहज हुने भएकाले शिविरको पहल गरेको हो ।”

गाउँपालिकाभित्रका करिब २५० भन्दा बढी साना ठूला व्यवसायीहरूले बायोमेट्रिक कर प्रणालीमा दर्ता गराएको उहाँले जानकारी दिनुभयो ।

करदाता सेवा कार्यालय ओखलढुङ्गाका प्रमुख एसपी सिंहले व्यवसायीहरूलाई करको दायरामा ल्याउनु राज्यको दायित्व भएकाले सबै प्रकारका व्यवसायीलाई सहज रुपमा सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । सेवा लिन व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेका पनि उहाँले बताउनुभयो ।

आफ्नै आँगनमा करदाता सेवा कार्यालयले सेवा दिँदा धेरै सहज भएको बायोमेट्रिक दर्ता गराउनुभएको स्थानीय व्यवसायी खेमराज घिमिरे बताउनुभयो । 

धेरै साथीहरूलाई ओखलढुङ्गा पुगेर दर्ता गराउन असहज भइहरेका बेला शिविरले ठूलो राहत पुगेको घिमिरेको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button