तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरीका महिलाले संचालन गरे हाटबजार 

सिन्धुपाल्चोक । तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङका महिलाहरू हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन् । स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू हौसिएका हुन् । 

आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने पाँचपोखरी पुग्ने बाटोमै पर्छ दुर्गम गाउँ भोताङको यार्सा बस्ती । मुख्य बाटोको छेउमै बनाइएको फलामे ट्रस्टको घरमा यहाँका महिलाहरू प्रत्येक शनिबार हाटबजार चलाउँछन् ।

स्थानीय लगायत वरपरका व्यवसायीहरू आवश्यक सामगी्रहरु खरिद गर्न हाटबजारसम्म आउने गर्छन् । ९ सय भन्दा बढी घरधुरीहरू रहेको यो बस्तीका महिलाहरू काउली, बन्दा, खुर्सानी, गोलभेँडा तथा जङ्गलको निउरो जस्ता तरकारी, फलफूल लगायत आफ्ना घरेलु उत्पादनहरू बिक्री गर्न हाटबजारसम्म आउने गरेको स्थानीय कार्चेन तामाङ बताउनुहुन्छ । मकै कोदो मात्र नभै तरकारी खेती गर्दा फाइदा भएको तामाङ बताउनुहुन्छ । घर खर्चका लागि  एक सयमात्र कमाउँदा पनि खुसी लाग्ने र हाटबजारमा आउन निकै रमाइलो लाग्ने माईली तामाङ बताउनुहुन्छ ।

परम्परागत खेती मात्रै गर्दै आएका भोताङबासीले हाटबजार चलाएपछि गाउँमा आवश्यक हुने सबै प्रकारका तरकारी लगायतको उत्पादन थालेका छन् । बसौँ बाँझो रहेको जमिनमा महिलाहरूले फरक फरक उत्पादन गर्ने गर्छन् भने आफूसँग नभएको किन्ने र भएको सामग्री बेच्ने बानी बसालेका छन् । स्थानीय महिलाहरूको सक्रियता पछि सञ्चालित हाटबजारले आर्थिक उन्नतिमा समेत टेवा पुगेको अर्का स्थानीय कमला तामाङले बताउनुभयो  । पहिला केही पनि उत्पादन गर्ने बानी नभएको तर अहिले उत्पादन गर्दा धरै चिज फलेको देखदा खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

स्थानीयको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले हाटबजार संचालन गर्न सामुदायिक आत्मनिर्भर सेवा केन्द्र  लगायत गाउँपालिकाले पनि सहयोग गरेको छ । गाउँमा उत्पादित बस्तुलाई बिक्री गर्ने परम्परा बसेको छ । जसले गर्दा दुर्गम ठाउँका महिलालाई उद्यमशील बनाएको छ भने अन्य ठाउँका मानिसलाई पनि सिकाई भएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ङिमाछिरीङ तामाङ बताउनुहुन्छ । उत्पादनको बजारीकरणमा वडाले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । 

दुर्गम ठाउँमा हाटबजार संचालन पछि स्थानीय उत्पादनले बजार पाउँदा महिलाहरू आर्थिक रूपले सबल र आत्मनिर्भर बन्न थालेका छन् भने उनीहरू मिहेनती र उद्यमशील पनि बनेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button