तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको मोदी गाउँपालिकाले उपभोक्ताको विद्युत् महसुल तिरिदिने

पर्वत । पर्वतको मोदी गाउँपालिकाले उपभोक्ताको बिद्युत् महसुल तिरिदिने भएको छ । 

गाउँपालिकाका हरेक नागरिकको न्यूनतम महसुल तोकेर गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्ने समझदारी गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र रहेको मोदी गाउँपालिकाले ‘रोयल्टी’ बापत वार्षिक झण्डै एक करोड ३० लाख रुपैयाँ पाउने गरेको छ । 

सोही रकमबाट स्थानीय तहका सबै उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले एकमुस्ट रूपमा तिर्ने गरी नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रसँग सहमति भएको हो । 

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार मोदी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका घरमा विद्युत् जडान गरेका उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले अनुदान उपलब्ध गराउने योजना अनुसार केन्द्रसँग सम्झौता भएको हो ।

‘रोयल्टी’ स्वरूप आएको रकमबाट नै खर्च धान्न सक्ने भएपछि गाउँपालिकाले पातिचौर क्षेत्रसहित मुख्य बजार र चोकमा सडक बत्ती जडानको योजना पनि बनाएको लामिछानेको भनाई छ । 

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले मोदी गाउँपालिका भित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक २० युनिट मानेर गाउँपालिकाले रकम तिर्ने सम्झौतामा उल्लेख रहेको बताउनुभयो । यो सम्झौता अब नयाँ मिटर जडान गर्ने ग्राहकको लागि पनि हो ।

केन्द्र प्रमुख गोसलीका अनुसार गाउँपालिकामा झण्डै तीन हजार उपभोक्ता छन् । उनीहरू सबैको मासिक न्यूनतम शुल्क रु.३० रुपैयाँका दरले मासिक रु.९० हजार रुपैयाँ हुन्छ । गाउँपालिकाले प्रत्येक तीन महिनाको रकम अग्रिम रूपमा एकमुष्ट पर्वत वितरण केन्द्रको खातामा जम्मा गर्नुपर्ने छ । गाउँपालिकाले प्रत्येक तीन महिनामा करिब रु.दुई लाख ७० हजार रुपैयाँ केन्द्रको खातामा जम्मा गर्ने छ । एक वर्षमा करिब रु.१० लाख ८० हजार रुपैयाँ मोदीले वितरण केन्द्रलाई तिर्ने छ । 

गाउँपालिकाले तिरिदिने रकम घरायसी प्रयोजनको लागि जडान भएका मिटरहरूका लागि भएकाले औद्योगिक प्रयोजनको लागि जोडिएका मिटर भने यो सम्झौतामा पर्ने छैनन् । 

केन्द्रले जडान गरेको गृहस्थ विद्युत् मिटरको मासिक रु.३० रुपैयाँभन्दा बढी लाग्ने अवस्था रहेमा त्यो महसुल बापतको रकम उपभोक्ताबाट गाउँपालिकाले नै उठाउने सम्झौतामा उल्लेख छ । 

सम्झौतामा मोदी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम र पर्वत वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख शिवनारायण गोसलीले हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता २०७९ भदौ १ गतेदेखि लागू भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button