तपाईँ सुन्दै हुनुहुन्छः

केन्याको राष्ट्रपतीय निर्वाचनको नतिजा उपविजेताद्वारा अस्वीकार

नैरोबी। केन्याको राष्ट्रपतिय निर्वाचनको नतिजा उपविजेताले अस्वीकार गरेका छन् ।

विपक्षी दलका प्रभावशाली नेता तथा राष्ट्रपतीय निर्वाचनमा उपविजेता घोषित राइला ओडिङ्गाले निर्वाचन आयोगले घोषणा गरेको नतिजा अस्वीकार गर्नु भएको हो ।

निर्वाचन आयोगले राष्ट्रपतिका अर्का उम्मेदवार तथा तत्कालिन उपराष्ट्रपति विलियम रुटोले जित हाँसिल गरेको सोमबार घोषणा गरेको थियो ।

नतिजा अस्वीकार गर्नु भएका ७७ बर्षीय ओडिङ्गाले अहिलेसम्म पाँच पटक राष्ट्रपतीय निर्वाचनमा उम्मेदावरी दिनुभएको थियो ।

उहाँले निर्वाचनमा धाँधली भएको, निश्पक्ष नभएको, राज्य शक्ति र श्रोत साधनको दुरुपयोग गरिएको लगायतका आरोप लगाउनुभएको छ । उहाँले त्यसविरुद्ध आफूले कानूनी उपचार खोज्नेसमेत बताउनु भएको छ ।

तर निर्वाचन आयोगका अधिकारीहरुले भने निर्वाचन निष्पक्ष नै भएको दावी गर्दै यसमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन् ।

आयोगले रूटोलाई देशको पाँचौ राष्ट्रपतिका रुपमा घोषणा गरिसकेकाले उहाँलाई जिम्मेवारी दिनेगरी अन्य प्रक्रिया सुरु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति रूटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गर्नुभएको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिनुभयो । उहाँको भोट ५०.४९ प्रतिशत भएको छ ।

उहाँसँग प्रतिष्पर्धामा उभिनु भएका प्रभावशाली विपक्षी नेता ओडिङ्गाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गर्नु भएको छ । यो सङ्ख्या ४८.८५ प्रतिशत हो ।

राष्ट्रपतिमा नवनिर्वाचित रूटो सन् २०१३ देखि देशको उपराष्ट्रपतिको जिम्मेवारीमा हुनुहन्छ । उहाँले आफूले सबैलाई समेटेर अगाडि बढ्ने र देशको विकासका लागि सबैको योगदानको आवश्यकता रहेको बताउनु भएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button