तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीद्वय चौधरी र खापुङद्वारा १५० शय्याको प्रसूति भवन उद्घाटन

रुपन्देही । शहरी विकास मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १५० शय्याको प्रसूति भवन उद्घाटन गर्नुभएको छ । साढे २६ करोड लागतमा बनेको चार तले भवनको बुधबार मन्त्री द्वयले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण भएको हो । मन्त्री द्वयको उपस्थितिमा आयोजना इकाई कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा शहरी विकास मन्त्री चौधरीले प्रसूति भवनले बुटवल र आसपासका बिरामीहरूलाई ठूलो राहत पुग्ने बताउनुभयो । उहाँले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मुटु, मिर्गौला तथा क्यान्सरजस्ता रोगका कारण वर्षेनी ५ लाख नेपालीहरू गरिबिको रेखामा पर्ने गरेको तथ्याङ्क देखिएको बताउँदै सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको भन्दै उहाँले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रसूति भवन निर्माणले लुम्बिनीको सेवालाई गुणस्तरीय बनाउन टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले वार्षिक १३ हजार महिलाले प्रसूति सेवा लिने गरेको र नयाँ भवन भएपछि सेवा लिनेको सङ्ख्या बढ्ने बताउनुभयो ।

अपाङ्गमैत्री र लिफ्टको समेत व्यवस्था रहेको भवनमा इमर्जेन्सी, आइसियु, एन आइसियु, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेसन रुम, मातृशिशु वार्ड, बच्चाहरूको खोप केन्द्र लगायतका कक्षहरू रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button