तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई विजयी बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण नेता रिजाल

वीरगञ्ज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन सबै एक ढिक्का भएर चुनावी अभियानमा होमिनुपर्नेमा अगुवा कार्यकर्ताहरूले जोड दिनुभएको छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिले आज वीरगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागीहरूले गएको स्थानीय निर्वाचनमा भएका कमीकमजोरी सुधार गर्दै संघ र प्रदेशमा पनि आफ्ना प्रतिनिधिलाई विजयी गराउने गरी चुनावमा होमिन सबै एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कांग्रेसका लागि महत्त्वपूर्ण रहेकाले चुनावमा सक्रिय भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

पार्टीलाई विजयी बनाउन कार्यकर्ताको ठूलो भूमिका हुने भएकाले त्यही अनुसार जनताको घर दैलोमा पुगेर काँग्रेसको पक्षमा वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले कांग्रेस एक्लै चुनावमा होमिए पनि विजयी बनाउनका लागि अहिलेबाटै तयारीमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शङ्कर प्रसाद चौधरी, पार्टी पर्साका प्रवक्ता रमेश पाण्डे, महाधिवेशन प्रतिनिधि वशिष्टनारायण कुर्मी, जिल्ला सहसचिव नवीन कुमार सिंह, रामदेव चौहान, रामेश्वर महतो केवट लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button