तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो: राष्ट्रपति भण्डारी

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला भएको बताउनुभएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोह लाई मङ्गलवार सम्बोधन गर्दै उहाँले मुलुकको सर्वाङ्गीण विकास गर्ने आधार शिक्षा नै भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । 

गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित स्थापित गर्नु आजको आवश्यकता भएको भन्दै राष्ट्रपति भण्डारीले  एक्काइसौँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्त्वलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनीहरूको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य रहेको पनि धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले शिक्षाको क्षेत्रमा सरकारले गरेको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा जति लगानी गरेको छ त्यहीँ अनुसार प्रतिफल प्राप्त गर्न नसकेको वर्तमान अवस्थामा विन्ध्यबासिनी माविलगायतका केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न जति लगानी गरेको छ लगानी अनुसारको प्रतिफल प्राप्त गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button