तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षपछि जुम्लामा जात्रा: अर्थतन्त्र चलायमान हुने आशा 

जुम्ला । जुम्लामा कर्णाली प्रदेशकै लामो जात्रा सुरु भएको छ । कोरोनाले रोकिएको जात्रा तीन वर्षपछि शुरु भएको हो । रक्षाबन्धन जनै पूर्णिमाका दिनबाट शुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सम्म लाग्ने गर्दछ । जात्राको पहिलो दिन साउन २७ गते गाईजात्रा निकालिएको थियो । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा आत्म शान्तिको लागि गाईजात्रा मनाइन्छ । 

दोस्रो दिन २८ गते रोपाई जात्रा, तेस्रो दिन २९  गते बाघ भालु जात्रा र ३० गते मिम बादशाह,पल्टन जात्रा तथा धामी,पञ्चेबाजा लगायतका जात्रा देखाइएको छ । जुम्ली संस्कृति तथा परम्परा झल्काउने खालका विभिन्न प्रस्तुतिहरू समेत जात्रामा देखाइएको छ । जात्रा आठ दिनसम्म चल्छ । 

लिच्छवि कालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले भावविह्वल भएकी रानीलाई सान्त्वना दिन र सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको शुरुवात गरेको मान्यता छ । भने, त्यसपछि पनि रानीको मन शान्त नभएपछि खुसी बनाउन रोपाई जात्रा, मिमबादशाह जात्रा,पल्टन जात्रा लगायतका रमाइला कार्यक्रम गरेको इतिहास छ । सामाजिक कुरीति, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर समेत जात्रा मार्फत व्यङ्ग्यात्मक प्रस्तुती दिने दिइएको थियो । 

जात्रामा सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्रामा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो । 

चलायमान बन्दै अर्थतन्त्र
कोरोना महामारीका कारण विगत तीन वर्षदेखि जात्रा रोकिएको थियो । जात्रा हेर्न जाजरकोट,कालिकोट,मुगु लगायतका जिल्लाबाट समेत आउने गर्छन् । भने जात्राले जुम्लाको हरेक वस्तुलाई बजारीकरण गर्न समेत सहज गर्छ । तीन वर्षपछि यस पाली जुम्लामा जात्रा लागेपछि शुरुवाती दिन देखिनै जात्राको उपस्थिति उल्लेखीय रहेको छ । जसले गर्दा जुम्लाको अर्थतन्त्रलाई चलायमान बनाएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्रबहादुर कार्कीले बताउनुभयो ।  

उहाँले भन्नुभयो,“दैनिक २ देखि ३ हजार बढी जात्रु सदरमुकाम आइरहेका छन् । यहाँका साना–ठुला होटल भरिभराउ छन् । भने फेन्सी पसलहरूको व्यापार ह्वात्तै बढेको छ । खाजा नास्ता खुवाउने व्यापारीलाई झन् भ्याइ नभ्याई छ । अघि पछिको भन्दा जात्राले जुम्लाको अर्थतन्त्रलाई चलायमान बनाएको छ । व्यापारीले राहत महसुस पनि गरेका छन् ।”

अरू बेला भन्दा जात्रा अवधिमा कुनै पनि सामान खरिद गर्दा केही छुट र सस्तो मूल्यमा पाईने भएकाले पनि आर्थिक गतिविधि बढेको समितिका कोषाध्यक्ष कार्कीको भनाई छ । सबैभन्दा बढी व्यापार फेन्सी व्यवसायीहरूले गरेको पाइएको छ । गौतम फेन्सी स्टोरका सञ्चालक भीम प्रसाद गौतम कोरोनाले थलिएको व्यापार जात्राले उकासिन थालेको बताउँछन् । जात्रामा नयाँ कपडा लगाउनु पर्ने मान्यता र रहरले पनि रेडिमेट खरिद गर्ने र टेलर्समा सिलाउनेको सङ्ख्या बढेको हो । 

भने व्यापारी मीन प्रसाद पौडेल, थानेश्वर पोखरेलका अनुसार जात्रामा केही छुट हुने भएकोले पनि दैनिक उपभोग्य सामान खरिद गर्ने उपभोक्ताको सङ्ख्या उल्लेखीय रहेको छ । उता होटल व्यवसायी पदम महत, नोर्बु लामा अघिपछि भन्दा जात्रा अवधिमा होटलको व्यापार सन्तोषजनक रहेको बताउनुहुन्छ । 

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जात्रा अवधिमा खरिद विक्री बढ्ने,आर्थिक कारोबार बढ्नुका साथै कालोबजारी पनि बढ्ने भएकोले बजार अनुगमनमा कडाइ गरिने बताउनुभयो । साथै बजार सरसफाईमा समेत जोड दिनु पर्ने उनको भनाई छ । जनैपूर्णिमाका दिनबाट शुरु भएको कर्णालीकै लामो जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काटेपछि मात्रै सकिन्छ । जुम्लाको अर्थतन्त्रलाई लामो जात्रा लगायत विभिन्न मेला महोत्सवले चलायमान बनाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button