तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

भोजपुर । विपद्को समयमा समुदायमा खोज तथा उद्धारका लागि सहजता कायम गर्नका लागि भोजपुरमा बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ । 

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आर्थिक बर्ष ०७९÷०८० का लागि बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको हो । बिपद कति बेला पर्ने हो थाहा नहुने भएकाले पूर्वतयारी पनि आवश्यक भएकाले योजना नै तयारी गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । 

“बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अन्तर्गत केन्द्र देखि जिल्ला तहसम्म नै समिति निर्माण भएको छ, सोही अनुसार जिल्ला तहमा पनि कार्य योजना तयारी गरी लागू गर्न जरुरी रहेकाले भोजपुरमा पनि कार्ययोजना बनाई स्वीकृत गरिएको हो ।” प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो । जिल्लाको बिपद प्रतिकार्य योजना तयारी गरी लागू गर्ने, जिल्ला स्तरमा रहेका आपतकालिन कार्य सञ्चालन केन्द्रहरू सञ्चालन गर्ने, उपलब्ध श्रोत साधनको प्रयोग गरी बिपद प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका कार्य गर्ने जिम्मेवारी जिल्ला बिपद व्यवस्थापन समितिको भएकाले सोही अनुसार प्रतिकार्य योजना निर्माण भएको छ, प्रजिअ घिमिरे भन्नुहुन्छ ।

यस्तै बैठकले भोजपुरमा रहेका नौ वटै पालिकाहरूको प्रमुखको अध्यक्षतामा स्थानीय बिपद व्यवस्थापन समिति गठनको प्रावधान रहेकाले गठन नभएकामा गर्ने र भएकाहरूले कामको विवरण सहित जिल्ला बिपद व्यवस्थापन समितिलाई उपलब्ध गराउने साथै स्थानीय स्तरमा पनि बिपद पूर्वतयारी प्रतिकार्य योजना निर्माण गर्ने निर्णय गरेको छ ।  

गृह मन्त्रालयको प्राप्त पत्रानुसार मनसुनजन्य विपद्को कारणले जिल्लामा भएको घरको पूर्ण क्षति भई बस्न नमिल्ने र अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्थामा भएका घरहरूको साबिकमा सिफारिस भई आएको व्यक्तिहरूको घर निर्माण प्रक्रिया अगाडी बढाउन स्थानीय पालिकाहरूले तोकिएको कागजात तयारी गरी सिफारिस गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै बैठकमा जिल्लाको षडानन्द नगरपालिका १४ बोयाको बिहीबारेमा भएको आगालागिमा परि मृत्यु भएकी बालिकाको परिवारलाई राहत स्वरूप २ लाख प्रदान गरिएको, घर आगलागी तथा च्याङमा परेकाको परिवारलाई अहिलेसम्म ३ लाख ११ हजार राहत प्रदान गरिएको साथै जिल्ला अस्पताल भोजपुरलाई १० वटा बेड खरिद गरी हस्तान्तरण गरिएको पनि जानकारी दिइयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button