तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दूरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको मन जित्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकोले जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्न सक्नु तथा विकास निर्माण र सेवा प्रवाहमा मेरो तेरो नभनी सबैलाई बिना भेदभाव समान पहुँच स्थापित गर्न सक्नु कुशल नेतृत्वको गुण हो भन्नुभयो ।

प्रधानमन्त्री देउवाले विभिन्न पाँच दलीय गठबन्धन गरेर नै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त भएको उल्लेख गर्दै आगामी आम निर्वाचनमा पनि गठबन्धनबाटै सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङले स्थानीय जनप्रतिनिधिलाई जनताका काम जिम्मेवारीपूर्वक पारदर्शी रुपमा गर्न आग्रह गर्नुभयो ।

उहाँले जनताका प्रश्नको जवाफ कामले दिनुपर्ने बताउँदै चुनावी घोषणा र प्रतिबद्धताअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता रहेको नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button