तपाईँ सुन्दै हुनुहुन्छः

पिथिवाङ खोलामा वर्षौँदेखि  पुल  निर्माण अलपत्र

रुकुम पश्चिम । राप्ती लोक मार्ग अन्तरगत पर्ने सल्यान रुकुम खण्डको पिथिवाङ खोलामा सडक पुगेको डेढ दशकसम्म पनि मोटरेवल पुल बन्न सकेको छैन । सडक निर्माण भएको मात्र होइन पुल निर्माणकै ठेक्का परेको चार वर्ष बित्दा पनि पुल बन्न नसकेको हो । रुकुम, सल्यान, दाङ, नेपालगन्ज तथा काठमाडौँ जोड्ने प्रमुख यस सडकको पुल नबन्दा यहाँका स्थानीयका साथै आवतजावत गर्ने यात्रुहरूले समस्या भोग्दै आएको स्थानीय भरत केसीले बताउनुभयो । उहाँका अनुसार फेरी बर्षायामको समय आउन लागेको हुँदा छिटोभन्दा छिटो पुल निर्माणको काम थाल्न स्थानीय तथा यात्रुहरूले माग गर्दै आएका छन् । 

पुल लामो समयसम्म नबन्दा रुकुममा बेलाबेला स्थानीय तथा सरोकारवाला निकायहरूले दबाब र धर्नाको काम पनि गर्दै आएका छन् । त्यस्तै जिल्ला स्थित अन्य राजनीतिक दल देखि प्रतिनिधि तथा प्रदेशसभा संसदहरुमा नै छिटो पुल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । कर्णाली प्रदेशसभा सांसद महेन्द्र केसी पुलको विषयमा संसदमा धारणा राख्नुहुँदै सङ्घीय सरकारको कमजोरीका कारण पुल अहिलेसम्म निर्माण हुन नसकेको बताउनुभयो । ‘समयमै पुल निर्माण गर्न नसक्ने निर्माण व्यवसायीलाई किन म्याद थप भैसकेको छ, सङ्घीय सरकार र मातहतका कार्यालयहरूले किन आवश्यक निर्णय लिन सकिरहेका छैनन् गम्भीर प्रश्न यो हो ।’ उहाँले संसदमा भन्नुभएको छ । 

संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारी बिच २०७६ असारमा ४ करोड १२ लाख रकममा निर्माण सम्झौता भए पनि हालसम्म पनि निर्माण कार्य अलपत्र अवस्थामा छ । विभिन्न सरोकारवाला निकायहरूले दबाब दिएपछि सडक डिभिजन कार्यालयले उक्त निर्माण व्यवसायीसँग ठेक्का तोड्ने तयारी समेत गरेको छ । सडक डिभिजन चौरजहारी रुकुम पश्चिमका प्रमुख तेजस्वी शर्माका अनुसार तपाईँको ठेक्का किन नतोड्ने भनेर सूचना प्रकाशित भैसकेको र सबै पक्षसँग समन्वयपछि आवश्यक निर्णय लिने बताउनुभयो ।

निर्माण कम्पनीले इमेल मार्फत काम गर्ने प्रतिबद्धता जनाएको भए पनि निर्माण स्थलमा गएर कुनै पनि काम सुरु नगरेको कारण यस पटक ठेक्का तोड्ने तयारी  कार्यालयले गरेको छ ।  

जिल्ला सदरमुकामकै मुसिकोट नगरपालिका वडा नं. ११ र १२ मा पितिवाङ खोला पर्छ । पुलको ठेक्का परेको ४ वर्ष मात्र भए पनि सडक सञ्चालन भएको करिब दुई दशक हुँदा पनि पुल नबन्दा सरोकारवाला निकायहरू अचम्ममा परेका छन् भने यात्रुहरूले बर्सेनि सास्ती भोग्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button