तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला घोषणापत्र जारी गर्दै प्रथम अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

जुम्ला । जुम्लामा पहिलोपटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ ।

अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।

नेपालमै पहिलोपटक जुम्लामा वैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित शनिबार सम्मेलन सुरु भएको थियो ।

दुई दिनसम्म सञ्चालित सम्मेलनमा मानसिक रोगसम्बन्धी करिब ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको कर्णाली जस्तो दुर्गम क्षेत्रमा अझै मानसिक स्वास्थ्यको आवश्यक चेतना पुग्न नसकेकोले मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान व्यापक रुपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पुर्‍याउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।

सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्न केएचएसको मनोचिकित्सा विभाग, प्रादेशिक अस्पताल र प्रादेशिक/स्थानीय सरकारहरूलाई काम गर्ने अवसर खोज्ने जनाइएको छ ।

समापनका क्रममा अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताउनुभयो ।

उहाँका अनुसार सम्मेलन आगामी वर्ष पनि सम्मेलन सञ्चालन गरिनेछ । आगामी वर्षमा प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिने पौडेलको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button