तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा मन्त्रालयमा कुनै विधेयक छैन: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयमा कुनै पनि शिक्षासम्बन्धी विधेयक पेन्डिङमा नरहेको बताउनुभएको छ ।

file photo

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले आफूले संसद्को यही कार्यकालमा संघीय शिक्षा विधेयक ल्याउन चाहेको तर काम गर्ने परम्परागत शैलीले गर्दा ढिलाइ भएको जानकारी दिनुभयो ।

हाल मन्त्रालयमा कुनै पनि विधेयक पेन्डिङमा नरहेको स्पष्ट पार्नुहुँदै मन्त्री पौडेलले प्रतिनिधिसभाको समयावधि सकिएपछि राष्ट्रिय सभाबाट भए पनि संघीय शिक्षा विधेयक ल्याइने बताउनुभयो ।

गत वर्ष ४२२ जनाले नर्सिङ पढ्न भर्ना भएको जानकारी दिनुहुँदै मन्त्री पौडेलले नेपालमा प्यारामिडिसिन र नर्सिङ पढाइमा समस्या रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले संघीय शिक्षा ऐन नहुँदा शैक्षिक क्षेत्र अन्यौलमा परेकाले ऐन तत्काल ल्याइनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, मिनबहादुर विश्वकर्मा सरिता न्यौपाने, नबिना लामा, हितबहादुर तामाङ र रेखाकुमारी झाले कैलालीको गेटा मेडिकल कलेज र भक्तपुरको खोप इन्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाइनुपर्ने र नेपाल विश्वविद्यालय ऐन पनि तत्काल ल्याइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button