तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानमा क्षयरोग,फोक्सो क्यान्सरको (ब्रोन्कोस्कोपी) विशेषज्ञ सेवा शुरु

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पश्चिम नेपालमै पहिलो ब्रोन्कोस्कोपी सेवा शुरु भएको छ । क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने(टिभी)रोग, क्यान्सरको शङ्का लागेको लगायत दिर्घरोगीको उपचारका लागि जुम्ला अस्पतालमा सोमबारदेखि (ब्रोन्कोस्कोपी) सेवा शुरु भएको हो । 

पश्चिम नेपालकै एक मात्र छाती र आइसियु विशेषज्ञ डाक्टर अनुस्मृति पालले (ब्रोन्कोस्कोपी) अर्थात् क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने, लगायत दीर्घ रोगको विशेषज्ञ उपचार गर्नुहुने छ । उहाँका अनुसार सोमबार पहिलो बिरामीका रुपमा खकारमा रगत बग्ने जुम्लाका एक बिरामीको सिटी स्क्यान गरी (ब्रोन्कोस्कोपी) उपचार थालिएको छ । 

डाक्टर पालले भन्नुभयो,“कर्णालीमा क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने रोगका बिरामी बढ्दै छन् । विगतमा क्यान्सरको शङ्का लागेका बिरामीलाई चितवन र काठमाडौँ पठाउनु पर्ने बाध्यता थियो । अब जुम्लामै सबै उपचार हुन्छ । कर्णालीका नागरिकले दीर्घ रोग पालेर बस्न पर्ने छैन ।”

ब्रोन्कोस्कोपी सेवा नेपालका धेरै ठाउँमा अझै सञ्चालित छैन । साथै बच्चाले कलम मासुको हड्डी लगायतका केही वस्तु घाँटीभित्र अड्काएमा पनि अब सहजै निकालिने छ । भने, क्यान्सरको परिक्षण पनि जुम्लामै हुने छ । 

विगतमा सिटी स्क्यान गर्दा क्यान्सरको शङ्का लागेका बिरामीलाई महँगो खर्चमा मासु जाँचका बाहिरी जिल्ला पठाउनु पर्थ्यो। सुदूरपश्चिम सहित कर्णाली प्रदेशका सबै नागरिकले जुम्लामै छाती सम्बन्धी समस्यासँगै क्यान्सर परिक्षण, खकार परिक्षण, क्षयरोगकोको सहजै उपचार पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले बताउनुभयो । दिर्घरोग निदानका लागि (ब्रोन्कोस्कोपी) सेवा कर्णालीमा कोशेढुंगा बन्ने पनि उपकुलपति रावलको विश्वास छ । 

कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजीव शाहले सोमबारदेखि जुम्लामा (ब्रोन्कोस्कोपी) सेवा शुरु भएकोले उल्लेखित रोगको शङ्का लागेका उपचार गराइरहेका बिरामीलाई विशेषज्ञ उपचार गराउन आउन समेत अनुरोध गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button