तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा गणेशको रथयात्रा निकालियो 

पाल्पा । पाल्पाको पुरानो र ऐतिहासिक जात्राको रुपमा मनाइने श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा तानसेनमा निकालिएको छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजा सहित गणेशको रथ निकालेको हो ।

ऐतिहासिक भगवती जात्राको झल्को दिने गरी गणेशको रथ निकालियो हो । भगवतीको जात्रामा जस्तै युवाहरूले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइएको थियो । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिएको गुठीले जनाएको छ । 

गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठियार हिमालदत्त श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो । गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । 

गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाइसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ ।

नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरू सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरू निकाल्न बाटो खुल्ने गर्दछ । तानसेनमा दश दिनसम्म लगातार जात्रा निकाल्ने गरिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button