तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमा दर्शनार्थीको घुइँचो 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी, रैथानेश्वर, नौलिङेश्वर, भैरवकुण्ड लगायतका क्षेत्रमा जनैपूर्णिमाको अवसरमा दर्शनार्थीहरुले उत्साहपूर्वक मेला भरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँच पोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला स्थगित गरिएको थियो । यसपालि भने जनैपूर्णिमाको अवसरमा पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आइपुगेका छन् ।

समुद्री सतहबाट ४ हजार ३ सय मिटर उचाइमा रहेको पाँचपोखरी क्षेत्रमा साना–ठूलो गरी ५ वटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँच पोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरी रहेका छन् ।

पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजनहरूले चढाउने गरेका छन् । विशेषगरी यहाँ जाने भक्तजनहरूले खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्। पाँच पोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाल लगायतका पर्यटकीय स्थल समेत रहेका छन् ।

जनै पूर्णिमा तथा गाईजात्राकै अवसर पारेर पाँच पोखरी थाङपाल गाउँपालिका–४ मा रहेको बाग्मती प्रदेशकै बृहत् विद्यालय थाङपाल भ्याली मा.बि.का विद्यार्थीहरूले पनि मौलिक  कला संस्कृति को जगेर्ना गर्ने उद्देश्यले गाईजात्रा तथा झाँक्री नाचको प्रस्तुती गरेका छन् । विद्यालय स्तरबाटै विद्यार्थीहरूले कला संस्कृतिको जगेर्ना र विकास गर्न सक्ने भएकाले विद्यार्थीहरूलाई सहभागी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button