तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमतीको हत्यारा पक्राउ

अछाम । आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेर हत्या गरेर फरार रहेका अछामका एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका श्रीमान् पदम कामी (पैलु)लाई प्रहरीले पक्राउ गरेको हो । 

यही साउन ११ गतेको राती हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो । प्रहरीका अनुसार उनी हत्या गरेर सोही राति नै जङ्गलको बाटो भएर कालिकोट गएका थिए।

त्यसपछि त्यहाँबाट जुम्ला, नेपालगञ्ज र कैलाली हुँदै महेन्द्रनगर पुगेका थिए। तर, प्रहरीले सबै जिल्लाका प्रहरीलाई उनी फरार रहेको बारे सूचना पठाएको थियो । उनी भारततर्फ भाग्न महेन्द्रनगर पुगेको प्रहरीले बताएको छ।

महेन्द्रनगर पुगेका उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीका आधारमा पदमलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो ।

उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी डाँगीको भनाइ छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button