तपाईँ सुन्दै हुनुहुन्छः

आपूर्ति मन्त्री बडू र युरोपियन युनियन की राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि युरोपियन युनियन (इयू) की राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभयो।

भेटवार्तामा राजदूत डेप्रेजले विगतदेखि नै नेपाल र इयूबीचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गर्नुहुँदै आफ्नो कार्यकालमा नेपाल र इयूबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने बताउनुभयो ।उहाँले नेपालको विकास प्रयासमा आर्थिक तथा अन्य सहयोग र सहकार्य गर्न इयू सधैँ तयार रहेको पनि बताउनुभयो।

राजदूत डेप्रेजले आगामी असोज ६ र ७ ९सेप्टेम्बर २२ र २३ तारिख० गते युरोपियन युनियनका सांसदको नेतृत्वमा नेपाल भ्रमणमा आउन लागेको ६ सदस्यीय प्रतिनिधिमण्डलबारे जानकारी दिनुहुँदै माननीय मन्त्रीज्यूसँग प्रतिनिधिमण्डले भेटवार्ता गर्न चाहेकोले भेटघाटका लागि समय उपलब्ध गराइदिनुहुन आग्रह गर्नुभयो।  

त्यस अवसरमा मन्त्रीले इयूले नेपालको विकास प्रयासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूतबाट पहल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालले इयूको सहयोगमा कार्यान्वयन गरिरहेको व्यापार र लगानी कार्यक्रमको नतिजा सन्तोषजनक रहेको र मन्त्रालयले बनाउन लागेको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनका लागि पनि इयूबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेको धारणा राख्नुभयो।

यसैगरी मन्त्री बडूले संयुक्त राष्ट्र सङ्घको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति हुन सिफारिस गरेकोले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गर्नुभयो। त्यसैगरी उहाँले युरोपियन युनियनका सांसदहरूको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेकोमा खुशी व्यक्त गर्नुभयो । 

त्यस अवसरमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button